Logo
Logo
राजनिती

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

त
तिलिचो न्यूज
२०८२ माघ १५ गते ०४:५४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ, १४ माघः एक–अर्काे दलका उम्मेदवारबीच आरोप–प्रत्यारोपसहित ‘बोलचाल बन्द’ को स्थितिबाट निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा यस पटक भने हार्दिकता देखिएको छ ।

विसं २०६२/६३ को परिवर्तनपछि कुनै न कुनै रूपमा हुँदै आएको चुनावी तालमेल र मिलिजुली सरकार गठन गर्ने परिस्थितिले पनि एक–अर्काप्रति नजिक्याएकाले पनि हार्दिकता प्रकट गर्ने वातावरण बनाएको अनुमान गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी सिन्धुली निर्वाचन क्षेत्र नं २ का उम्मेदवार लेखनाथ दाहाल एकअर्काे दलको नेता तथा कार्यकताप्रति समेत हार्दिकता देखिँदा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र मितव्ययी तुल्याउन सहयोग पुग्ने धारणा राख्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “नेता तथा कार्यकर्ताबीचको हार्दिकता र शालिनताले चुनावी वातावरण सहज तुल्याउँछ । निर्वाचनलाई खर्चका हिसाबले विशिष्टिकृत नतुल्याइ सामान्य बनाउन जनतामाझ पुगेर अन्तरसंवाद गर्ने, विश्वास दिलाउने र मत माग्ने कार्य गर्नु नै असल अभ्यास हो ।”

उहाँका अनुसार राजनीति सङ्ग्लिँदै गएकाले विगतमा पार्टी कमिटीमार्फत जनतामा पुग्ने गरेको उम्मेदवार अहिले प्रत्यक्ष जनता सहभागी हुने परिस्थिति बनेको छ । भिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत अरु उम्मेदवारको विचार सुन्ने र बुझ्ने वातावरण मिलेको छ । यसले लोकतान्त्रिक राजनीति संस्कारको विकास भएको देखाउँछ ।

“अर्कातर्फ ग्रामीण बस्तीमा प्रभाव कम भए पनि निर्वाचनलाई मितव्ययी बनाउन ‘डिजिटल प्लेटफर्म’ प्रयोग गर्न सकिन्छ । जनताले पनि सामाजिक सञ्जालमा कसको उपस्थिति राम्रो रहेछ भनी यकिन गरी त्यसैका आधारमा मूल्याङ्कन हुन थालेको अनुमान गर्न सकिन्छ”, पूर्वसांसद दाहालले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजाल निर्वाचनको अत्यन्त प्रारम्भिक चरणमा रहेकाले आगामी दिन कसरी अघिबढ्ने भन्ने अहिले नै आकलन गर्न बाँकी नै रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सूचना प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने ठूलो चेतना छ, तर त्यसको प्रयोग कतिको प्रभावकारी हुन्छ ? मतदाता र उम्मेदवारको भेटघाटको सट्टामा काम गर्छ, अहिलेको आकलन गर्न सकिन्न ।”

सहरी क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै नेता रिजालले गाउँघरमा भने मतदाता उम्मेदवारलाई देख्न र भेट्न चाहने बताउनुभयो । उहाँले मोरङ क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी गुल्मी निर्वाचन क्षेत्र नं १ मा एमाले नेता प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारीले त्यसखाले संस्कार प्रस्तुत गर्दै आउनुभएको थियो । यस्तै झापामा माओवादी नेता राम कार्की र कांग्रेस नेता विश्वप्रकाश शर्माले पनि एकअर्काप्रति लोभलाग्दो सम्मान व्यक्त गर्दा सबैबाट प्रशंसा भएको थियो ।

नेकपा (एमाले) सर्लाही क्षेत्र नं ३ का उम्मेदवार हरिप्रसाद उप्रेती निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढेको प्रतिक्रिया दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कतिपय उम्मेदवारको स्वभावमा पनि भरपर्ने भएकाले हार्दिकताको विषय त्यससँग जोडिन्छ । तर असल राजनीतिक संस्कार अघि बढेको छ, जसले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको छ ।”

पूर्वमन्त्री उप्रेतीका अनुसार, चुनावमा खर्च गर्ने प्रवृत्तिमा सुधार आवश्यक छ । गाउँ र समाजको संरक्षण गरेर बसेका निष्ठावान्, सम्पत्ति नभएका मानिस प्रतिस्पर्धा गर्न पाउनुपर्छ । त्यस्ता व्यक्ति नीति निर्माण तहमा पुग्नुपर्छ । राज्यले त्यस्तो वातावरण गर्न सकेन भने राज्य ठीक ढङ्गले अघि बढन सक्दैन । मुख्य कुरा निर्वाचनमा खर्च गर्न नपर्ने प्रणालीको विकास गर्नुपर्ने छ ।

राष्ट्रिय जनता दल नेपालका तर्फबाट सर्लाही क्षेत्र नं १ का उम्मेदवार रामप्रकाश चौधरी यसअघिको निर्वाचनमा एक अर्कालाई देखे/नदेखेजस्तो गर्ने प्रवृत्ति अहिले आफूले महसुस नगरेको बताउनुहुन्छ । “पहिलेजस्तो तनाव र पानी बाराबारको स्थिति अहिले छैन, हार्दिककता साटासाट गरेर नै चुनावी माहोल अघि बढिरहेको छ । विगतको जस्तो जुलुस लिएर घर दैलो गर्ने कार्य निकै कम छ”, उहाँले भन्नुभयो, “जनताका केही गुनासो छ । पाँच वर्षका लागि पठाएको किन फर्केर आएको भन्ने प्रश्न सुन्न परेको छ ।”

जिल्लाका मतदाता प्रविधिसँग अभ्यस्त नभइसकेकाले सम्पूर्ण चुनावमा प्रविधिमय भइहाल्छ भन्ने हुन्न । सहरी क्षेत्रमा यसको सदुपयोग र दुरूपयोग दुवै छ । असल अभ्यासलाई आत्मसात् गर्नुपर्छ तर प्रविधिको प्रयोगको पाटोमा जाँदा त्यसमा पनि खर्च गर्नुपर्ने अवस्था छ ।

नागरिक उन्मुक्ति पार्टी नेपालकातर्फबाट बर्दिया निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अब्दुल खान जिल्लाका सबै निर्वाचन क्षेत्रमा भाग लिने राजनीतिक दल र उम्मेदवारबीच सौहार्दता रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एकले अर्काप्रति आरोप प्रत्यारोप नगरी जनता नै सर्वाेपरि हुन् भन्ने भावनाले मतदाता भेटघाट चलाएको र निर्वाचनको तयारीमा जुटिरहेको अवस्था छ ।”

उम्मेदवारी दर्ता गराउँदा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमुक्ति पार्टीका उम्मेदवारले सँगै उभिएर तस्वीर खिचाएको दृष्टान्त दिँदै उहाँले भन्नुभयो, “जनताको हातमा फैसला छ, जनता निकै सचेत छन्, निर्णय गर्न जनतालाई छाडेका छौँ । हामीबीच कुनै तिक्तता छैन ।” निर्वाचनको प्रसारप्रसारमा सामाजिक सञ्जालले धेरै सजिलो पुर्‍याए पनि केही व्यक्तिले त्यसको दुरूपयोग गरी व्यक्ति विशेषलाई लक्षित गरी बदनाम गर्ने प्रवृत्ति सच्याउनुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित